काठमाडौं । धितोपत्र बजार (नेप्से) मा सुधारको क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ। लगातार चौथो दिन बढेको बजार आज ६.०३ अंकले उकालो लागेर २६ सय ५४ दशमलव ९३ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्से परिसूचकमा झिनो सुधार देखिए तापनि पछिल्ला केही दिनयता कारोबार रकममा भने निरन्तर गिरावट देखिएको छ। बिहीबार ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो। बुधबार ३३३ कम्पनीको १ करोड ४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको थियो।
आजको बजारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ। जसमध्ये सालपा विकास बैंकको सेयर मूल्यमा ९.९९ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा ९.२६ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ।
उपसूचकतर्फ मिश्रित परिणाम देखिएको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युच्युअल फण्ड समूहका उपसूचकहरू ओरालो लागेका छन् भने बाँकी अन्य सबै समूहका उपसूचकहरूमा हरियाली छाएको छ। बजारमा सकारात्मक वातावरण देखिए पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकममा संकुचन आएको विश्लेषण गरिएको छ।







