काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ। यसै सिलसिलामा आयोगले काठमाडौँ र भक्तपुरबाहेक देशका ७५ जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतपत्र पुर्याइसकेको छ।
आयोगका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र ‘समानुपातिक निर्वाचन प्रणाली’ दुवैतर्फका मतपत्रहरू ७५ जिल्लामा ढुवानी भइसकेका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले ७५ जिल्लाका निर्वाचन कार्यालयहरूमा सामग्री पुगेको पुष्टि गरेका हुन्।
बाँकी रहेका काठमाडौँ र भक्तपुर जिल्लामा भने बिहीबार मात्रै निर्वाचन सामग्री र मतपत्र पुर्याइने आयोगले जानकारी दिएको छ। यी दुई जिल्ला आयोगको केन्द्रीय कार्यालयसँगै रहेकाले अन्तिम चरणमा सामग्री उपलब्ध गराउन लागिएको हो।
निर्वाचनको मिति आउन अब केही दिन मात्र बाँकी रहँदा आयोगले मतपत्र ढुवानीसँगै कर्मचारी व्यवस्थापन र मतदान केन्द्रहरूको तयारीलाई पनि अन्तिम रूप दिइरहेको छ।







