काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको अन्तिम मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो नतिजा दिने गरी तयारी भइरहेको जानकारी दिनुभएको हो।
आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको गणना पनि सँगसँगै अगाडि बढाइनेछ। पहाडी र हिमाली दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न समय लाग्ने भए तापनि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर छिटोभन्दा छिटो संकलन गर्ने प्रयास भइरहेको आयुक्त भण्डारीले बताउनुभयो। आयोगले गरेको यो प्रतिबद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उहाँले सञ्चारकर्मीहरूलाई आग्रह समेत गर्नुभएको छ।
अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न देशका पर्यवेक्षकहरूलाई आमन्त्रण गरिएको र उनीहरूले निर्वाचनको वस्तुस्थितिको जानकारी लिइरहेको पनि आयोगले जनाएको छ। आयोगको यो लक्ष्य पूरा भएमा नेपालको निर्वाचन इतिहासमै सबैभन्दा छिटो नतिजा आउने अपेक्षा गरिएको छ।







