काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आज बिहान ७ बजेदेखि देशभर एकैसाथ मतदान सुरु भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरका सबै मतदान केन्द्रहरूमा निर्वाध रूपमा मतदान कार्य अगाडि बढिरहेको छ।
मतदाताहरूले आज अपराह्न ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्। आयोगले मतदानका लागि मतदाता परिचयपत्र मात्र नभई नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर पनि मतदान गर्न पाउने सहज व्यवस्था गरेको छ।
देशभर कुल १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरू तोकिएका छन्, जसमध्ये ३ हजार ६८० केन्द्रलाई ‘अति संवेदनशील’ वर्गीकरण गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन सम्पन्न गर्न २ लाख १५ हजार सरकारी कर्मचारी र ३ लाख ४० हजारभन्दा बढी सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र निर्वाचन प्रहरी) परिचालन गरिएको छ।







