काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण र व्यवस्थित वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ। मतदानपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले ७७ वटै जिल्लामा आम मतदाताको सहभागिता निकै उत्साहजनक रहेको जानकारी दिनुभयो।
आयुक्त भण्डारीका अनुसार बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुचारु भएको र मतदाताको उपस्थिति तथा सुरक्षा व्यवस्था अत्यन्तै राम्रो रहेको छ। “मतपत्र पाएपछि एकदेखि दुई मिनेटभित्रै मतदान सकिने गरी व्यवस्थापन मिलाइएको छ,” उहाँले भन्नुभयो। युवाहरूको विशेष उत्साहलाई हेर्दा यस पटक ६५ प्रतिशतभन्दा बढी मत खस्ने आयोगको प्रारम्भिक अनुमान छ।
मतदान सम्पन्न भई मतपेटिकाहरू संकलन भएलगत्तै मतगणना सुरु गरिने र गणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने प्रयासमा आयोग जुटेको उहाँले प्रष्ट पार्नुभयो। उहाँले सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई मतदान नसकिउन्जेलसम्म शान्तिपूर्ण रूपमा सहयोग गर्न आह्वान समेत गर्नुभएको छ।







