काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै जस्तोसुकै आलोचना र अवरोधका बीच पनि सरकार आफ्नो लक्ष्यबाट विचलित नभएको बताउनुभएको छ। बिहीबार निर्वाचन सम्पन्न भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सुरक्षा चुनौतीका बाबजुद एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले गर्दा निर्वाचन हिंसारहित र सभ्य रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले सरकार गठनको समयमा देशको अवस्था निकै असहज रहेको स्मरण गर्दै निस्वार्थ भावले काम गरेका कारण नै यो जिम्मेवारी पूरा गर्न सफल भएको दाबी गर्नुभयो। उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागबीचको राम्रो समन्वयप्रति धन्यवाद व्यक्त गर्नुभयो। विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदाताले मतदान गर्न पाउने व्यवस्था गर्न सकेको भए अझ राम्रो हुने उहाँको भनाइ थियो।
आगामी सरकारलाई सुझाव दिँदै उहाँले युवापुस्ताले उठाएका सुशासन, रोजगारी, र भ्रष्टाचार अन्त्यका मागहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा भएका काम, बाँकी रहेका काम र सम्भव हुन नसकेका कारणहरू समेटेर छिट्टै ‘श्वेतपत्र’ सार्वजनिक गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो।
प्रधानमन्त्री कार्कीको सम्बोधन: “अवरोधका बाबजुद विचलित भएनौँ, शान्तिपूर्ण निर्वाचन नै हाम्रो सफलता”
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।







