काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएका सांसदहरूलाई भोलि बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका अनुसार निर्वाचित सांसदहरूका लागि भोलि बिहान ११ः३० बजे कान्तिपथस्थित आयोगको प्राङ्गणमा प्रमाणपत्र वितरण कार्यक्रम तय गरिएको हो।
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा समानुपातिकतर्फ ११० जना सांसदहरू निर्वाचित भएका छन्। राजनीतिक दलहरूले बुझाएको बन्द सूचीका आधारमा समावेशी क्लस्टर मिलाएर आयोगले चैत्र ४ गते नै निर्वाचित सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। प्रत्यक्षतर्फका १६५ जना निर्वाचित सांसदहरूले यसअघि नै आ–आफ्नो निर्वाचन क्षेत्रबाट प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
भोलिको कार्यक्रममा सबै दलका समानुपातिक सांसदहरूलाई आयोगले औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ। यससँगै प्रतिनिधि सभाका सबै २७५ सदस्यहरूको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ। आयोगले प्रमाणपत्र वितरणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको र निर्वाचित सदस्यहरूलाई समयमै उपस्थित हुन जानकारी गराइएको जनाएको छ।
समानुपातिक सांसदहरूले प्रमाणपत्र पाएपछि अब सबैको ध्यान संसद्को पहिलो बैठक र शपथ ग्रहणतर्फ केन्द्रित भएको छ। नयाँ सांसदहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते गर्ने प्रारम्भिक तयारी गरिएको छ। शपथ ग्रहणपछि नयाँ प्रतिनिधि सभाको अधिवेशन विधिवत रूपमा सुरु हुनेछ र नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाले थप गति लिनेछ।







