काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई आज (बिहीबार) प्रमाणपत्र वितरण गर्दैछ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा एक विशेष समारोहका बीच नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम तय भएको छ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ऐतिहासिक ५७ सिट प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट पाएका छन्। नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट हात पारेका छन्। यी ६ वटा दलले मात्र ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका हुन्।
प्रमाणपत्र वितरण लगत्तै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने कार्यतालिका छ। आज अपराह्न ४ बजे शीतल निवास पुगेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनेछ। प्रतिवेदन बुझाएपछि साँझ ५:३० बजे आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनका सम्पूर्ण प्रक्रिया र नतिजाबारे औपचारिक जानकारी दिने प्रवक्ता भट्टराईले बताउनुभयो।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटसहित करिब दुई–तिहाइ नजिकको बहुमत प्राप्त गरेको छ। आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक बाटो खुला हुनेछ। निर्वाचित सांसदहरूको शपथ ग्रहण भने आगामी चैत १२ गते गर्ने तयारी संसद् सचिवालयले गरेको छ।







