काठमाडाैं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार देशभरका ६ महानगरपालिकाहरूमध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।
आयोगले विभिन्न १७ वटा सूचकहरूलाई आधार मानेर गरेको मूल्यांकनमा काठमाडौंले १०० मध्ये मात्र ४४.९७ अंक प्राप्त गरेको छ। यो नतिजाले देशको संघीय राजधानी समेत रहेको महानगरको प्रशासनिक र वित्तीय व्यवस्थापन पक्ष अन्य महानगरको तुलनामा फितलो रहेको संकेत गरेको छ।
यस वर्षको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका ७८.११ अंकसहित देशभरकै सबैभन्दा अब्बल महानगर सावित भएको छ। दोस्रो स्थानमा रहेको ललितपुर महानगरपालिकाले ७६.३३ अंक प्राप्त गर्दा चितवनको भरतपुर महानगरपालिका ६८.०४ अंकका साथ तेस्रो स्थानमा रहन सफल भएको छ। त्यसैगरी, ५८.७६ अंक प्राप्त गर्दै कास्कीको पोखरा महानगरपालिका चौथो र ५४ अंकसहित पर्साको वीरगञ्ज महानगरपालिका पाँचौँ स्थानमा रहेका छन्।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि असार १० गतेभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरेको र आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण विवरण अर्थ मन्त्रालयमा बुझाएको जस्ता महत्वपूर्ण सूचकहरू तय गरेको थियो। साथै, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजुको स्थिति, र सूत्र सफ्टवेयरको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको थियो। आर्थिक सूचकका अलावा सामाजिक क्षेत्रतर्फ विद्यार्थी भर्ना र टिकाउ दर, एसईईको नतिजा, महिलाको गर्भ जाँच अनुपात र बालबालिकाको खोप कभरेजलाई समेत मूल्यांकनको आधार बनाइएको थियो।
यसबाहेक, घरजग्गा रजिस्ट्रेसन, मनोरञ्जन र विज्ञापन करबापत संकलित रकममध्ये ४० प्रतिशत हिस्सा प्रदेश सञ्चित कोषमा समयमै दाखिला गरे/नगरेको विषयलाई पनि आयोगले कडाइका साथ हेरेको छ। यी विविध प्राविधिक र व्यवस्थापकीय मापदण्डहरूमा खरो उत्रिन नसक्दा काठमाडौं महानगरपालिका अन्य महानगरहरूभन्दा निकै पछि परेको देखिएको हो।







