काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सोमबार दुईवटा ड्रोन खसेपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिए अनुसार सुरक्षा निकायहरूले उक्त आगलागीलाई तत्काल नियन्त्रणमा लिएका छन्।
सरकारी सञ्चार माध्यम ‘शारजहाँ २४’ का अनुसार यस आकस्मिक घटनामा चार जना विदेशी नागरिक घाइते भएका छन्। घाइते हुनेहरूमा एक जना भारतीय नागरिकको अवस्था मध्यम रहेको छ भने दुई जना घानाका र एक जना बङ्गलादेशी नागरिकलाई सामान्य चोट लागेको छ। उनीहरू सबैको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ड्रोन घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुबई नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको उडान सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यात्रु र कर्मचारीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्नका लागि यो सावधानी अपनाइएको प्राधिकरणले जनाएको छ।
विमानस्थलको उडान स्थगित भएसँगै एमिरेट्स एयरलाइन्सले पनि दुबई आउने र यहाँबाट प्रस्थान गर्ने आफ्ना सम्पूर्ण उडानहरू अर्को सूचना नभएसम्मका लागि रोकेको छ। एयरलाइन्सले आफ्ना यात्रुहरूलाई तत्काल विमानस्थल नआउन र उडानको पछिल्लो स्थितिको जानकारी लिन सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न विशेष अनुरोध गरेको छ।







