काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज मंगलबार साबिक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबिच पहिलो क्वालिफायरमा रोचक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५:०० बजे सुरु हुने यस खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
लिग चरणमा उत्कृष्ट लय प्रस्तुत गर्दै शीर्ष स्थान कब्जा गरेको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले सात खेलबाट पाँच जित, एक हार र एक रद्दसहित ११ अंक बटुलेको थियो। उत्कृष्ट नेट रनरेट (+१.२५६) सहित पहिलो क्वालिफायरमा स्थान बनाएको लुम्बिनीका लागि विदेशी ब्याटर डि’आर्सी सर्ट (१४८ रन) र बलिङतर्फ शेर मल्ल (९ विकेट) प्रमुख हतियार बनेका छन्। प्रतियोगिताको उद्घाटन खेलमै सुदूरपश्चिमलाई ७ विकेटले हराएको लुम्बिनी सोही उच्च मनोबलका साथ मैदान उत्रिने दाउमा छ।
अर्कोतर्फ दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले पनि लिग चरणमा सात खेलबाट पाँच जित र दुई हार बेहोर्दै १० अंकसहित दोस्रो स्थान हासिल गरेको हो। प्रतियोगिताको सुरुवाती खेलहरूमा केही संघर्ष गरे पनि पछिल्ला चार खेलमा लगातार सानदार जित निकाल्दै सुदूरपश्चिमले लय समातेको छ। टोलीका लागि अनुभवी खेलाडीहरू स्कट कुगेलेइन, ब्रान्डन म्याकमलेन, विनोद भण्डारी तथा कप्तान ऐरीको अलराउन्ड प्रदर्शन आजको निर्णायक खेलमा निकै महत्त्वपूर्ण हुनेछ।
शीर्ष दुईमा रहेर लिग चरण पार गरेका यी दुई महारथीबिचको आजको भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। त्रिवि मैदानमा साँझको समयमा चिसो मौसम र शीतको प्रभाव पर्न सक्ने भएकाले टस जित्ने टोलीका लागि रणनीति छनोट निर्णायक बन्न सक्छ। दुवै टोलीले उपाधि यात्रालाई सुरक्षित गर्न कुनै कसर बाँकी नराख्ने उद्घोष गरेका छन्।




