काठमाडौँ । उज्यालो नेपाल पार्टीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजाबारे विस्तृत समीक्षा गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित दुई दिने विशेष बैठकमा निर्वाचनको समग्र अनुभव, संगठनात्मक अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे गहन छलफल भएको हो।
पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार, बैठकले पार्टीलाई चुनावी शक्तिको घेराबाट माथि उठाउँदै जनविश्वास, सुशासन, समृद्धि र सामाजिक न्यायको दीर्घकालीन अभियानका रूपमा स्थापित गर्ने निर्णय गरेको छ। कुलमान घिसिङ नेतृत्वको यस पार्टीले छोटो समयको तयारीका बाबजुद देशव्यापी रूपमा प्राप्त गरेको मतलाई ठूलो उपलब्धि मान्दै, यसलाई भविष्यको मजबुत राजनीतिक आधारशीलाका रूपमा लिएको छ।
निर्वाचनका क्रममा भोग्नुपरेका चुनौती, मतदाताको मनोविज्ञान र संगठन विस्तारका अवसरहरूबारे जिल्ला तथा प्रदेश संयोजकसँग छलफल गर्दै पार्टीले आफूलाई अझ व्यवस्थित र वैचारिक रूपमा स्पष्ट बनाउने प्रतिबद्धता जनाएको छ। प्रत्यक्षतर्फ सिट जित्न नसकेको र समानुपातिकतर्फको सहभागितामा देखिएको प्राविधिक जटिलतालाई शिक्षाका रूपमा लिँदै, आगामी दिनमा जनतासँगको प्रत्यक्ष सम्बन्धलाई थप प्रगाढ बनाउने निष्कर्ष बैठकले निकालेको छ।
आगामी दिनमा उज्यालो नेपाल पार्टीले राष्ट्रिय मूलधारको सशक्त शक्तिको रूपमा आफूलाई उभ्याउन वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरणमा जोड दिने स्पष्ट पारेको छ। प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, निर्वाचनका क्रममा प्राप्त अनुभवहरूले पार्टीको आगामी यात्रालाई थप परिष्कृत र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ।







