सुनसरी । सुर्खेतमा बालिका इनिशा बिकको जघन्य बलात्कार र हत्या भएपछि त्यसको आगो सुनसरीको वराहक्षेत्रसम्म आइपुगेको छ । आइतबार सुनसरी स्थिति बराहक्षेत्र नगरपालिकामा भएको सप्तकोशी बहुमुखी क्याम्पसका सयौँ विद्यार्थीहरूले ’न्याय’को माग गर्दै चक्रघट्टी बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेका छन् ।

‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ भन्ने मूल नाराका साथ सुरु भएको र्यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । क्याम्पस परिसरबाट सुरु भएको विरोध र्याली पानी ट्यांकी, महेन्द्र गेट, र मुनाल चोक हुँदै नगरपालिका कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्लेकार्ड बोक्दै नारा लगाएका थिए । “इनिशालाई न्याय दे !“ “बलात्कारीलाई फाँसी दे !“ “महिला सुरक्षाको ग्यारेन्टी गर !“ भन्दै विद्यार्थिले नारा लगाएका थिए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सभापति शिशिर तामाङले कोणसभालाई सम्बोधन गर्दै राज्यको फितलो सुरक्षा व्यवस्था र फितलो कानुनका कारण अपराधीहरूको मनोबल बढेको टिप्पणी गरे । उनले भने, “यस्ता जघन्य अपराध विरुद्ध अब कडा कानुनी कदम र प्रभावकारी सुरक्षा व्यवस्था अनिवार्य भइसकेको छ । दोषीले उन्मुक्ति पाए हामी आन्दोलनलाई अझ सशक्त बनाउँछौँ ।“
सुर्खेतमा भएको यो घटनाले अहिले देशभरका विद्यार्थी र नागरिक समाजलाई आक्रोशित बनाएको छ। सामाजिक सञ्जालमा पनि ३व्गकतष्अभँयचक्ष्लष्कजब ट्रेन्डिङमा रहेको छ, जसले गर्दा सरकारलाई छिटो अनुसन्धान गर्न दबाब बढेको छ।







