काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित १५औँ महाधिवेशनको पक्षमा दृढ रहेको शेरबहादुर देउवा पक्षीय समूहको गण्डकी प्रदेश अधिवेशन सुरु भएको तीन दिन बितिसक्दा पनि पदाधिकारी चयनको विषय अझै अनिर्णीत बनेको छ। पर्यटकीय नगरी पोखरामा शनिबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको अधिवेशनको बन्दसत्रले सभापति र सदस्यहरूको नाम सर्वसम्मत घोषणा गरे पनि अन्य मुख्य पदाधिकारीको टुङ्गो लगाउन नसक्दा अन्योल चुलिएको हो।
अधिवेशनबाट प्रदेश सभापति पदमा मेखलाल श्रेष्ठ एकल उम्मेदवारी परेसँगै सर्वसम्मत निर्वाचित भइसकेका छन् भने ६४ जना कार्यसमिति सदस्यहरूको नामावली पनि निर्विरोध टुङ्ग्याइएको छ। यद्यपि, पार्टी विधान अनुसार चयन हुनुपर्ने दुई उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्री पदमा आकांक्षीहरूको बाक्लो उम्मेदवारी परेपछि सहमति जुटाउन नेतृत्वलाई हम्मेहम्मे परेको हो।
दुई उपसभापतिका लागि ११ जना, दुई महामन्त्री पदका लागि ३ जना तथा तीन सहमहामन्त्री पदका लागि १२ जना नेताहरूको उम्मेदवारी दर्ता भएको छ। यसअघि शनिबार साँझ निर्वाचन कार्यतालिका ननिकाली हतारमा पदाधिकारी घोषणा गरिएपछि केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल लगायतका नेताहरूले विधि र प्रक्रियाविपरीत भएको भन्दै कडा आपत्ति जनाएका थिए। त्यसपछि प्रक्रिया सच्याउँदै सहमतिको खोजी गरिए पनि आकांक्षीहरू पछि हट्न तयार नहुँदा निर्णय लम्बिएको छ।
जिल्ला तहमा नेतृत्व चयन भइसकेपछि प्रदेश कार्यसमितिमा पदाधिकारी बन्न तीव्र प्रतिस्पर्धा देखिएको कांग्रेस नेताहरूले बताएका छन्। निर्वाचन समितिले सर्वसम्मतिको अधिकतम प्रयास गरिरहेको र शीर्ष नेताहरूसँग निरन्तर छलफल भइरहेको जनाएको छ। सोमबारसम्ममा बाँकी सबै पदाधिकारीको नाम टुङ्ग्याएर अधिवेशन औपचारिक रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।




