काठमाडौँ । सूर्य उपासना र लोकआस्थाको महापर्व छठको मुख्य दिन आज आइतबार साँझ उपराष्ट्रपति रामसहायप्रसाद यादवले ललितपुरको कुपोन्डोल र सानेपास्थित बागमती नदी किनार पुगेर अस्ताउँदो सूर्यलाई विधिपूर्वक पूजा-आराधना गरी अर्घ अर्पण गरेका छन्। उपराष्ट्रपति यादवले कुपोन्डोल घाट तथा सानेपास्थित राम मन्दिर राजतीर्थ क्षेत्रमा सजिएको छठ घाटमा पुगेर अस्ताचलगामी सूर्य र छठी माताको श्रद्धापूर्वक वन्दना गरेका हुन्।
राजतीर्थमा छठ पूजामा सरिक हुन पुगेका उपराष्ट्रपति यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेतासहित स्थानीय समिति तथा श्रद्धालु भक्तजनहरूले न्यानो स्वागत गरेका थिए। सो अवसरमा उपराष्ट्रपति यादवले परिवारसहित अस्ताउँदो सूर्यलाई पवित्र जल र फलफूलको अर्घ चढाउँदै सम्पूर्ण नेपालीहरूको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरे। उनले छठ पर्वले आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
उपराष्ट्रपतिसँगै काठमाडौँ उपत्यका तथा देशभरका विभिन्न नदी, ताल, पोखरी र जलाशयहरूमा लाखौँ श्रद्धालु तथा व्रतालुहरूले पवित्र स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। ललितपुरका बागमती, नख्खु, कुपन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका धार्मिक स्थलहरूमा व्रतालुहरूले माटोको पालोमा दियो बालेर, ठेकुवा, भुसुवा, अदुवा, उखु, केरा तथा मौसमी फलफूल बाँसको नाङ्लो र ढाकीमा सजाएर श्रद्धापूर्वक छठी मातालाई चढाएका थिए।
कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको चार दिवसीय यस महापर्वको तेस्रो दिन आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएपछि व्रतालुहरू रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने परम्परा छ। सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर विधिवत् रूपमा यस वर्षको छठ पर्व सम्पन्न हुनेछ। प्रकृतिको आराधना र समानताको सन्देश बोकेको यस पर्वले सम्पूर्ण समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ।




