काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबिच कुनै किसिमको असमझदारी वा मतभेद नरहेको स्पष्ट पारेका छन्। आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री आचार्यले पार्टी र सरकार दुवै एउटै लय, उद्देश्य र ‘फेज’ मा अगाडि बढिरहेको बताएका हुन्।
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै महामन्त्री आचार्यले पार्टी सभापति र प्रधानमन्त्रीको कार्यशैलीका विषयमा विभिन्न कोणबाट साझा सुझावहरू आउनु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे। उनले प्रधानमन्त्री र सभापतिबीच विगतमा पनि कुनै विवाद नरहेको र वर्तमानमा पनि कुनै मतभेद नभएको दाबी गरे। तथ्य र प्रमाणमा टेकेर पार्टीका सांसदहरूले संसद् तथा सार्वजनिक वृत्तमा राखेका विचारहरू स्वाभाविक भएको र त्यसले सरकार-पार्टी सम्बन्धमा कुनै तिक्तता नल्याएको उनको भनाइ थियो।
वर्तमान सरकारमा रास्वपा स्वयंको बलियो सहभागिता र अपनत्व रहेको स्मरण गराउँदै महामन्त्री आचार्यले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउने कार्य निरन्तर चलिरहने बताए। उनले भने, ‘यो सरकार रास्वपाकै हो। सरकारले कहीँकतै बाटो बिराएमा पार्टीले रचनात्मक रूपमा प्रश्न उठाउँछ र खबरदारी गर्छ। त्यसैगरी पार्टीले बाटो बिराएमा सरकारबाट पनि स्वाभाविक रूपमा प्रश्न उठ्न सक्छ। यसलाई मतभेदका रूपमा बुझ्नु हुँदैन।’
महामन्त्री आचार्यले पार्टीभित्र कुनै पनि प्रकारको आन्तरिक कलह वा गुटबन्दी नरहेको दोहोर्याउँदै रास्वपा सुशासन, जनअपेक्षा र समृद्धिको एजेन्डामा अविचलित रूपमा क्रियाशील रहेको दाबी गरे। चीन भ्रमणका क्रममा दुई देशीय सम्बन्ध, अनुभव आदानप्रदान र पार्टीगत सहकार्यका विषयमा सकारात्मक छलफल हुने जानकारी दिँदै उनी नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल आइतबार बेइजिङतर्फ प्रस्थान गरेको छ।




