बेइजिङ । विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच चुलिँदो व्यापारिक तनावका बीच फ्रान्सको पेरिसमा उच्चस्तरीय आर्थिक तथा व्यापारिक संवाद सुरु हुने भएको छ। यस वार्ताका लागि चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार पेरिसतर्फ प्रस्थान गर्दैछन्। यो भेटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने सम्भावित शिखर वार्ताको महत्त्वपूर्ण पूर्वतयारीका रूपमा हेरिएको छ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार मार्च १४ देखि १७ सम्म हुने यस परामर्शमा उपप्रधानमन्त्री हे लिफेङले चिनियाँ टोलीको नेतृत्व गर्नेछन्। वार्तामा अमेरिकी पक्षबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियर सहभागी हुनेछन्। दुवै देशका अधिकारीहरूले आपसी चासोका आर्थिक र व्यापारिक विषयमा छलफल गर्ने भनिए पनि वार्ताको विस्तृत कार्यसूची भने गोप्य राखिएको छ।
यस वार्तालाई मार्चको अन्त्यतिर हुने भनिएको अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणको आधार तय गर्ने कूटनीतिक प्रयास मानिएको छ। ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेसँगै व्यापार, औद्योगिक क्षमता र बजार पहुँचका विषयमा दुई देशबीच पुनः तनाव बढ्न थालेको छ। विशेष गरी अमेरिकाले चीनको अतिरिक्त औद्योगिक क्षमतामाथि नयाँ व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गरेपछि बेइजिङले त्यसको कडा आलोचना गर्दै आएको छ।
तनावपूर्ण सम्बन्धका बाबजुद पेरिसमा हुन लागेको यो संवादले अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। चीनले अमेरिकालाई आफ्नो ‘गलत अभ्यास’ सुधार्न आग्रह गरिरहेका बेला हुने यो वार्ताले दुई देशबीचको आर्थिक सम्बन्धलाई कस्तो दिशा दिन्छ भन्नेमा विश्व समुदायको चासो केन्द्रित भएको छ।







