काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले पहिलो मत खसालेका छन्। पार्टीको नयाँ सभापति पदका लागि नेता गगन थापा र श्यामकृष्ण खड्गीबिच मुख्य प्रतिस्पर्धा भइरहेको छ।
यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा भएको ढिलाइका साथै प्राविधिक तयारी पूरा नहुँदा स्थगित गरिएको थियो। सम्पूर्ण आवश्यक तयारी पूरा भएसँगै आज बिहानैदेखि मतदान अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
निर्वाचन समितिका अनुसार पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि देशभरबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्। मतदान केन्द्रमा बिहानैदेखि प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ।




