काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै बर्नमाउथसँग ३–० गोलको लज्जास्पद पराजय भोग्न बाध्य भएको छ । आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फितलो प्रदर्शन गर्दा पाहुना टोली बर्नमाउथले एकतर्फी जित दर्ता गर्यो ।
बर्नमाउथका लागि खेलको ३८औँ मिनेटमा जस्टिन क्लुइभर्टको फ्रिकिकमा रायनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा युनाइटेडका युवा डिफेन्डर लेनी योरो चिप्लिएपछि एड्रियन ट्रुफर्टको पासमा मार्कस टाभर्नियरले बर्नमाउथको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ७१औँ मिनेटमा एभानिल्सनले युनाइटेडका गोलकिपरलाई छक्याउँदै तेस्रो गोल गरी जित पक्का गरे ।
युनाइटेडका अन्तरिम प्रशिक्षक माइकल क्यारिकले टिम रणनीतिमा असन्तुष्टि जनाएका कप्तान ब्रुनो फर्नान्डेसलाई सुरुवाती ११ बाट हटाएर बेन्चमा राखेका थिए । खेलमा युनाइटेडले ६३ प्रतिशत बल नियन्त्रणमा राखे पनि बर्नमाउथको पोस्टमा निर्णायक आक्रमण बुन्न सकेन । लगातारको खराब नतिजापछि प्रशिक्षक क्यारिकको रणनीतिमाथि चर्को प्रश्न उठ्न थालेको छ ।





