काठमाडौँ । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना जापानी पर्वतारोहीको शव फेला परेको छ । ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहणका लागि निस्किएका जापानी नागरिकद्वय हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव उद्धार टोलीले ६ हजार ३०० मिटरको उचाइमा फेला पारेको हो ।
स्थानीय प्रशासनका अनुसार कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकका साथ आरोहण अभियानमा निस्किएका उनीहरू गत असोज २९ गतेदेखि ७ हजार ५० मिटरको उचाइमा पुगेपछि बेसक्याम्पसँग सम्पर्कविच्छेद हुन पुगेका थिए । प्रतिकूल मौसमका बीच हेलिकप्टर र दक्ष उद्धार टोली परिचालन गरी निरन्तर खोजी तीव्र पारिएको थियो ।
सुरुवाती खोजीका क्रममा उनीहरूले प्रयोग गरेका ब्याकप्याक तथा पर्वतारोहण सामग्री फेला परेका थिए । त्यसलगत्तै खोजतलासलाई सघन बनाउँदा गङ्गापूर्ण हिमालको दक्षिणी भागमा दुवै जनाको पार्थिव शरीर हिउँमा पुरिएको अवस्थामा फेला परेको उद्धार समन्वय टोलीले पुष्टि गरेको छ ।
उद्धार गरिएका शवहरूलाई आवश्यक कानुनी प्रक्रिया र परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ । राजधानी ल्याइएपछि नेपालस्थित जापानी राजदूतावाससँग समन्वय गरी शव परिवारजनलाई हस्तान्तरण गरिने बताइएको छ ।





