काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् ।
रिहा भएपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने बताएका छन् । उनले साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको उल्लेख गरेका छन् ।
‘मेरो अघिल्लो गिरफ्तारीमा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेवापत कुनै पनि पत्रकारलाई पक्रन र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश गरेको थियो, आज फेरि त्यही मान्यता स्थापित भएको छ,’ उनले लेखेका छन् ।
सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति गुनासो भए प्रेस काउन्सिलमा जानुपर्ने उल्लेख गर्दै उनले आफूविरुद्ध उजुरी दिने कमेडियन तथा रास्वपा नेता हिमेश पन्तको कुनै गुनासो भए प्रेस काउन्सिल जानुपर्ने बताएका छन् ।
श्रेष्ठले आफूहरूमाथि सामाजिक सञ्जालमार्फत व्यक्तिलक्षित टिप्पणी भएको तथ्य पन्तले स्वीकार गरेको पनि जिकिर गरेका छन् ।
‘प्रेसजगतको ऐतिहासिक एकता आज पुनः प्रदर्शन भएको छ । बिहान घरबाट लगिएको म बेलुका घर फर्किएको छु । प्रेस स्वतन्त्रता जिन्दावाद !’ उनले लेखेका छन् ।
जनआस्था साप्ताहिकमा पन्तबारे समाचार प्रकाशित भएपछि दुई पक्षबिच विवाद भएको थियो । विवादपछि शुक्रबार पन्तले श्रेष्ठविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । यस्तै श्रेष्ठको तर्फबाट पनि पन्तविरुद्ध उजुरी दर्ता भएको थियो । यही उजुरीपछि शनिबार बिहान प्रहरीले घरबाटै उठाएर श्रेष्ठलाई छलफलका लागि भन्दै नियन्त्रणमा लिएर ब्युरो लगेको थियो ।
उनलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको थियो ।





