भीमफेदी दुर्घटना : ५ सदस्यीय छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश

काठमाडौँ । मकवानपुरको भीमफेदी–देउराली सडकखण्डअन्तर्गत चिसापानी ओरालोमा बिहीबार बिहान भएको भयानक विद्युतीय (ईभी) हाइस दुर्घटनामा १४ जनाको ज्यान गएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। काठमाडौँबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज ०२९४ नम्बरको ईभी हाइस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन, सडक तथा सवारीको प्राविधिक विश्लेषण गर्न र ७ दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

प्रजिअ अधिकारीका अनुसार काठमाडौँबाट बिहान २ बजे छुटेको उक्त सवारी साधन बिहान ५:४५ बजे चिसापानी नजिक दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाउने १४ जनामध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर बस्तीका रहेका छन् भने घाइते ६ जनाको उपचार भइरहेको छ। प्रारम्भिक जानकारी अनुसार राति अबेर काठमाडौँ पुगेको गाडीले पर्याप्त विश्राम नपाउनु, चालकको अत्यधिक थकान, तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नु नै दुर्घटनाको मुख्य कारण हुन सक्ने देखिएको प्रशासनले जनाएको छ।

भीमफेदी–देउराली सडकखण्ड दुर्घटनाका दृष्टिले निकै संवेदनशील बन्दै गएको उल्लेख गर्दै प्रशासनले रोड फर्निचर, ट्राफिक सङ्केत, सडकको स्तर र टाइम कार्ड प्रणालीलाई काठमाडौँदेखि नै अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ। छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउनुका साथै आगामी दिनमा यस्ता भयानक दुर्घटना दोहोरिन नदिन थप कडा नीतिगत कदम चालिने प्रजिअ अधिकारीले बताएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा