बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीमा समयसीमा : बिहान ५ देखि बेलुका ८ बजेसम्म मात्रै चल्न पाउने

काठमाडौँ । काठमाडौँ–बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सडक दुर्घटना न्यूनीकरण तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै उक्त रुटमा सवारी आवागमनको निश्चित समय तोकेको हो।

जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा गुड्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेभन्दा अगाडि बल्खुबाट उक्त रुटमा कुनै पनि यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा पछिल्लो समय यस सडक खण्डमा भयानक सवारी दुर्घटनाहरू बढ्दै गएको र मानवीय क्षति चिन्ताजनक बनेकाले कडा कदम चालिएको उल्लेख छ। साँघुरा सडक, भिरालो तथा घुम्ती, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति तथा रातिको समयमा चालकको थकान र अनिद्रा दुर्घटनाका प्रमुख कारक रहेको प्रशासनले जनाएको छ।

प्रशासनले उक्त रुटमा चल्ने सम्पूर्ण सवारीसाधनको प्राविधिक अवस्था पूर्ण जाँच गरेर मात्रै सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ। साथै, काठमाडौँ जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य र कडाइका साथ जाँच गर्न निर्देशन दिइएको छ। निर्धारित समयतालिका र सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकमाथि कडा कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा