एनपीएल क्रिकेट : चितवन प्ले अफ नजिक, जनकपुर र कर्णाली लिग चरणबाटै बाहिरिए

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्समाथि ४ विकेटको रोमाञ्चक जित हात पार्दै प्ले अफ नजिक पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको ८९ रनको सामान्य लक्ष्य चितवनले १७ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

चितवनको जितमा अनुभवी ब्याटर डेभिड मलानले उत्कृष्ट संयमित इनिङ खेल्दै ३९ बलमा १ छक्कासहित सर्वाधिक अविजित ३५ रन बनाए। त्यस्तै कुशल मल्लले २५ बलमा १५ रन, रवि बोपाराले १६ बलमा ३ चौकासहित १३ रन तथा कामिल मिश्राले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रनको योगदान दिए। बलिङतर्फ जनकपुरका राहुल यादवले ३ विकेट, कप्तान हर्मित सिंहले २ विकेट र विशाल शुस्लिङले १ विकेट हात पारेका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८८ रनको योगफल तयार गरेको थियो। जनकपुरका लागि कप्तान हर्मित सिंहले २५ बलमा २५ रन, विशाल शुस्लिङले १५ रन र सन्तोष कार्कीले १० रन जोड्नुबाहेक अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। कसिलो बलिङ गरेका चितवनका रन्जित कुमारले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर ३ विकेट लिए भने कप्तान सिकन्दर राजा, कमलसिंह ऐरी र कामिल मिश्राले समान २–२ विकेट तथा रिजन ढकालले १ विकेट हात पारे।

यो महत्त्वपूर्ण जितसँगै चितवन राईनोज ६ खेलबाट ७ अंक बटुल्दै तालिकाको चौथो स्थानमा उक्लिएर प्ले अफ सम्भावना बलियो बनाएको छ। अर्कोतर्फ, पराजित जनकपुर बोल्ट्स ७ खेलबाट ४ अंकमै सीमित हुँदै लिग चरणबाटै बाहिरिएको छ। चितवनको यस नतिजासँगै ६ खेलमा ४ अंक मात्रै जोडेको कर्णाली याक्सको समेत प्ले अफ पुग्ने गणितीय सम्भावना सकिँदै लिग चरणबाटै औपचारिक बहिर्गमन भएको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा