इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमाण्डर मारिएको पुष्टि

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासको सैन्य शाखा अल-कासाम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डर मारिएको औपचारिक पुष्टि गरेको छ। अल-कासाम ब्रिगेड्सले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै सामान्य सैन्य परिषद्का सदस्य तथा राफाह ब्रिगेडका मुख्य कमाण्डर ५३ वर्षीय समीर महमुद अबु युनिसको मृत्यु भएको जानकारी दिएको हो। शनिबार र आइतबारको मध्यरातमा इजरायली लडाकु विमानले गरेको आक्रमणमा उनी मारिएका हुन्।

विज्ञप्तिअनुसार अबु युनिस अल-कासाम ब्रिगेड्सका पहिलो पुस्ताका प्रभावशाली कमाण्डर थिए, जो सन् १९९१ मा उक्त समूहमा आबद्ध भएका थिए। लामो समय इजरायली कारागारमा समेत जेल जीवन बिताएका उनले हमासको सैन्य रणनीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए। गत सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको भीषण आक्रमणको पूर्वयोजना तर्जुमा गर्न र त्यसको कमाण्डिङ गर्नमा समेत उनको मुख्य संलग्नता रहेको अल-कासामले जनाएको छ।

यता इजरायली सेनाले पनि दक्षिणी गाजामा लक्षित हवाई आक्रमणमार्फत अबु युनिसलाई मारिएको पुष्टि गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा निकाय (आईएसए/शिन बेत) ले संयुक्त कारबाही सञ्चालन गरी खान युनिसको पश्चिमी क्षेत्र अल-मावासीमा युनिसलाई निशाना बनाएको जनाएका छन्। इजरायली सेनाका अनुसार अबु युनिसले इजरायली नागरिक तथा सुरक्षाकर्मीविरुद्ध आक्रमण निर्देशन दिँदै आएका थिए र युद्धका क्रममा कमजोर बनेको हमासको सैन्य संयन्त्र पुनः सुदृढ पार्ने प्रयासमा सक्रिय थिए।

पछिल्लो समय गाजा क्षेत्रमा जारी युद्धका क्रममा इजरायलले हमासका उच्चस्तरीय राजनीतिक तथा सैन्य नेतृत्वलाई लगातार निशाना बनाउँदै आएको छ। स्थल तथा हवाई आक्रमणका कारण गाजामा मानवीय संकट गहिरिँदै गएको छ भने प्रमुख सैन्य कमाण्डरहरूको लगातारको क्षतिले हमासको कमाण्ड संरचनामा थप धक्का पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा