काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मङ्सिर १ गतेदेखि ५ गतेसम्म पार्टीका शीर्ष तथा तल्लो तहका संरचनाहरूको लगातार बैठक र भेला आयोजना गर्ने भएको छ। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, वैचारिक तथा सांगठनिक एकतालाई सुदृढ बनाउने र आसन्न स्थानीय तह उपनिर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले एमालेले पाँच दिने सघन राजनीतिक कार्यक्रम तय गरेको हो।
एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर १ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटीको बैठक बस्नेछ भने मङ्सिर २ र ३ गते काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बृहत् राष्ट्रिय भेला आयोजना गरिनेछ। राष्ट्रिय भेलामा केन्द्रीय कमिटी सदस्यदेखि पालिका तहका कमिटीका प्रमुखहरू र विभिन्न तहका निर्वाचित जनप्रतिनिधिसहित देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधिहरू प्रत्यक्ष सहभागी हुने तय भएको छ।
त्यसैगरी मङ्सिर ४ गते च्यासलमै स्थानीय तहका प्रतिनिधिहरूको विशेष भेला डाकिएको छ भने मङ्सिर ५ गते पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका छ। राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाको समग्र समीक्षा गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा केन्द्रीय कमिटीले पारित गरेका दुई प्रमुख कार्यभार र १५ वटा कामबारे विशेष राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्नेछन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय मोर्चा र संघर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार सञ्चालन र कामका उपलब्धिको समीक्षा तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र चुनावी कार्ययोजनासम्बन्धी महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत गर्नेछन्। सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यस कार्यतालिकाले एमालेलाई संगठनात्मक रूपमा थप चलायमान र गतिशील बनाउने विश्वास लिइएको छ।




