काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेसँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि ऐतिहासिक घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि खेलहरू ‘होम एन्ड अवे’ (Home and Away) प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज क्लबका आफ्नै सुविधासम्पन्न र फ्लडलाइटयुक्त क्रिकेट रंगशाला निर्माण गरिने औपचारिक घोषणा गरेका हुन् । उनका अनुसार ती सबै रंगशालाहरूको निर्माण नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले प्राथमिकताका साथ अघि बढाउनेछ ।
प्रधानमन्त्रीद्वारा सार्वजनिक कार्ययोजनाअनुसार कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सातवटै रंगशालाको निर्माण प्रक्रिया द्रुत गतिमा थालिनेछ ।
कुन क्लबका लागि कहाँ बन्नेछ रंगशाला ?
- विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रंगशाला (विराटनगर)
- लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रंगशाला (भैरहवा)
- कर्णाली याक्स : सुर्खेत क्रिकेट रंगशाला (सुर्खेत)
- सुदूरपश्चिम रोयल्स : फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (धनगढी)
- काठमाडौं गुर्खाज : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (काठमाडौँ)
- पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रंगशाला (पोखरा)
- जनकपुर बोल्ट्स : रामजानकी बहुउद्देश्यीय क्रिकेट रंगशाला (जनकपुर)
- चितवन राइनोज : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (भरतपुर)
नेपाली क्रिकेटको व्यावसायिक विकास, स्तरवृद्धि र अन्तर्राष्ट्रिय पहिचानका लागि आवश्यक आधुनिक भौतिक पूर्वाधार निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन् ।




