काठमाडौँ । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने बहानामा सोझा नागरिकमाथि हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष संयुक्त कार्यदल गठन गरेको छ। गृहमन्त्रीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूबिच सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकले कार्यदल गठन गरी तत्कालै कार्यादेशसहित परिचालन गर्ने निर्णय गरेको हो।
हालै यूएई भ्रमणका क्रममा अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित महावाणिज्य दूतावासमा नेपाली श्रमिकहरूसँग भएको छलफलमा वैदेशिक रोजगारीका नाममा ठगिने र अलपत्र पर्ने क्रम बढेको गुनासो आएपछि सरकारले यो कदम चालेको हो। एउटा काम देखाएर अर्कै जोखिमपूर्ण काममा लगाउने, करार सम्झौताविपरीत पारिश्रमिक नदिने र भिजिट भिसामार्फत मानव तस्करी गर्ने गिरोहलाई नियन्त्रण गर्न कार्यदल केन्द्रित रहनेछ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, गृह, श्रम, पर्यटन तथा शिक्षा मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अध्यागमन र शैक्षिक परामर्श केन्द्रहरूमा हुने अवाञ्छित चलखेलमाथि कडा निगरानी राख्ने अधिकार दिइएको छ।
गृह मन्त्रालयले रोजगारीका नाममा ठगीमा संलग्न जोसुकै व्यक्ति, म्यानपावर कम्पनी वा गिरोहमाथि शून्य सहनशीलता अपनाएर कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ। पीडित नागरिकका गुनासाहरू शीघ्र सम्बोधन गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन कार्यदलले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी कारबाही अघि बढाउने जनाइएको छ।




