काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सोमबार देशका पहाडी तथा तराई भू-भागमा मौसम सामान्यतया सफा रहने भए पनि हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।
आज दिउँसो देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने पहाड र तराईका अधिकांश जिल्लाहरूमा पारिलो घाम लाग्ने पूर्वानुमान गरिएको छ । त्यसैगरी आज राति कोशी प्रदेशका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सफा रहने भए पनि तराई, भित्री मधेश, नदी तटीय क्षेत्र तथा उपत्यका र खोँचहरूमा बिहानीपख हल्का हुस्सु र कुहिरो लाग्नेछ ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबार (कात्तिक १२ गते) देखि देशको मौसम प्रणालीमा ठूलो फेरबदल आउने चेतावनी दिएको छ । आगामी बुधबारसम्म मौसममा खासै ठूलो प्रतिकूलता नदेखिए पनि बिहीबार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
बिहीबार हुन सक्ने भारी वर्षा र हिमपातका कारण पहिरो, गेग्रान बहाव, बाढी तथा सडक र हवाई यातायात, पर्वतारोहण एवं कृषि क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक पूर्वसतर्कता अपनाउन र अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सर्वसाधारण तथा सम्बन्धित निकायहरूमा विशेष अनुरोध गरेको छ ।





