जनकपुरधाम । सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार संकटमा परेको छ । सरकार गठनका बखत भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्रिपरिषद् अल्पमतमा परेको हो ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश प्रमुखलाई औपचारिक पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । यससँगै एमालेका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन् । एमालेका प्रमुख सचेतक हरिनारायण महतोले सहमति पालनामा मुख्यमन्त्रीले बेवास्ता गरेकाले सरकार छाड्नुपरेको स्पष्ट पारे ।
एमालेको अप्रत्याशित बहिर्गमनप्रति प्रमुख सत्ता साझेदार कांग्रेसले कडा असन्तुष्टि जनाएको छ । कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले गठबन्धनभित्र छलफल नै नगरी चाडबाडको मुखमा समर्थन फिर्ता लिनु राजनीतिक स्टन्ट भएको टिप्पणी गरे । उनले दसैँलगत्तै दलहरूसँग संवाद गरी सरकार जोगाउन आवश्यक कदम चालिने बताए ।
एमाले बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत सावित गर्नुपर्ने बाध्यता आइपरेको छ । यसैबीच प्रदेशसभाको ठूलो दल जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले नयाँ समीकरणमा जसपाको भूमिका निर्णायक हुने संकेत गरेका छन् । यसले गर्दा मधेसमा दसैँपछि नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेको छ ।





