वरिष्ठ गायक आनन्द कार्कीको आरोपपछि प्रमाणसहित दुर्गेश थापाको स्पष्टीकरण: ‘पारिश्रमिक समयमै भुक्तानी भइसकेको थियो, अग्रजप्रति सधैँ सम्मान छ’

काठमाडौँ । चर्चित गायक तथा सर्जक दुर्गेश थापाले वरिष्ठ गायक आनन्द कार्कीले एक टेलिभिजन अन्तर्वार्तामा लगाएको आरोपको खण्डन गर्दै लिखित प्रमाणसहित विस्तृत स्पष्टीकरण दिएका छन् । प्राइम टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा गायक कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले सामाजिक सञ्जालमार्फत आधिकारिक प्रेस विज्ञप्ति र हस्ताक्षरसहितको सम्झौता पत्र सार्वजनिक गरेका हुन् ।

दुर्गेशले नेपाली संगीत क्षेत्रमा आज आफू जुन स्थानमा पुगेको छ, त्यसमा अग्रजहरूको सद्भाव, आशीर्वाद र सहकार्यको ठूलो भूमिका रहेको उल्लेख गर्दै वरिष्ठ गायक आनन्द कार्कीप्रति आफ्नो सधैँ उच्च सम्मान रहेको बताएका छन् । “हरेक कलाकारको कला र क्षमताको आफ्नै विशिष्टता हुन्छ । अग्रज कलाकारसँग सहकार्य गर्न पाउनु मेरा लागि पनि महत्त्वपूर्ण अवसर थियो,” विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

विवादको मुख्य विषय बनेको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को पारिश्रमिकबारे प्रस्ट पार्दै दुर्गेशले भनेका छन्, “उक्त गीतमा सहकार्य गर्नुभएका वरिष्ठ गायक आनन्द कार्कीज्यूसँग सहमति भएको सम्पूर्ण पारिश्रमिक गीत सार्वजनिक हुनुपूर्व नै सम्बन्धित समयमै भुक्तानी गरिसकिएको थियो ।” आफ्नो दाबीलाई पुष्टि गर्न उनले गायक आनन्द कार्की, गायिका एलिना चौहान र समीक्षा अधिकारीले पारिश्रमिक बुझिसकेको र गीतमा आफ्नो कुनै थप आर्थिक दाबी नरहेको भनी हस्ताक्षर गरेको आधिकारिक पत्र समेत सार्वजनिक गरेका छन् ।

यस्तै, अन्तर्वार्तामा उल्लेख गरिएको अर्को गीतका सम्बन्धमा दुर्गेशले त्यो आफ्नो सिर्जना भए पनि एक चलचित्र परियोजनाका लागि तयार पारिएको स्पष्ट पारेका छन् । चलचित्रसँग सम्बन्धित व्यवस्थापन, निर्माण र भुक्तानीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित चलचित्र निर्माण पक्षकै हुने भएकाले समग्र सन्दर्भ बुझिदिन उनले आग्रह गरेका छन् ।

कलाकारहरूबीच सानातिना बुझाइमा भिन्नता आउँदैमा सांगीतिक सम्बन्ध र आपसी सद्भाव कमजोर हुन नहुने बताउँदै दुर्गेशले कसैप्रति आरोप-प्रत्यारोप गर्नु आफ्नो उद्देश्य नरहेको र केवल सत्यतथ्य सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरेको बताएका छन् ।


दुर्गेश थापाद्वारा सार्वजनिक गरिएको पारिश्रमिक तथा हकवाला सम्झौता पत्र:

दुर्गेश थापा र आनन्द कार्की बीच भएको सम्झौता पत्र

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा