काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा नेपाली क्रिकेट परिवार, खेलाडी तथा समस्त खेलप्रेमीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो शुभकामना सन्देश सार्वजनिक गर्दै उनले एनपीएललाई नेपालको खेल इतिहासकै सबैभन्दा ठूलो र भव्य उत्सवका रूपमा चित्रण गरेका छन् ।
प्रधानमन्त्री बालेनले छोटो समयमै एनपीएलले अन्तर्राष्ट्रिय स्तरको खेल उत्सवका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गरेका छन् । “नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ,” प्रधानमन्त्रीले लेखेका छन्, “केही वर्षकै अन्तरालमा यस प्रतियोगिताले हासिल गरेको उचाइ र क्रिकेटप्रेमीको अभूतपूर्व उत्साह वास्तवमै गौरव गर्न लायक छ ।”
प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाल आइपुगेका विश्वस्तरीय अन्तर्राष्ट्रिय खेलाडीहरू, विदेशी कमेन्टेटरहरू तथा प्राविधिक टोलीलाई न्यानो स्वागत गर्दै उनले नेपाली खेलाडी, फ्रेन्चाइज टोली, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) को सफल व्यवस्थापनको प्रशंसा गरेका छन् । सन्देशको अन्त्यमा उनले क्रिकेटको विकास र समृद्धिको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भनी ऐक्यबद्धता जनाएका छन् ।
आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणमा देशका विभिन्न भूगोलको प्रतिनिधित्व गर्ने आठ वटा शक्तिशाली फ्रेन्चाइज टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितालाई लिएर क्रिकेट समर्थकहरूमा निकै ठूलो उत्साह देखिएको छ ।





