पार्टीमै बसेर अन्य दललाई मत दिए कडा कारबाही हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनुशासन उल्लंघन गर्दै अन्य दलका उम्मेदवारलाई मतदान गर्ने वा सहयोग पुर्‍याउने जुनसुकै तहका नेता-कार्यकर्तामाथि कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा बसेर आन्तरिक रूपमा घात-प्रतिघात गर्ने प्रवृत्तिलाई कुनै पनि हालतमा छुट नदिइने बताएका हुन्।

आगामी स्थानीय तहको उपनिर्वाचन नजिकिँदै गर्दा पार्टी पंक्तिलाई पूर्ण रूपमा परिचालित हुन निर्देशन दिँदै अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात हुने जोखिमप्रति कडा सतर्कता अपनाउन आग्रह गरे। पार्टीको सदस्य भएर अन्य दलका उम्मेदवारलाई मत दिएको वा असहयोग गरेको प्रमाण भेटिएमा तत्काल स्पष्टीकरण सोध्ने, गम्भीर छानबिन गर्ने र दोषी ठहरिए कडा संगठनात्मक कारबाही गरिने उनले स्पष्ट पारे। पार्टीभित्र बसेर अनुशासनहीनता र बेइमानी गर्ने छुट कसैलाई नरहेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन जित्नका लागि पार्टीभित्रका सानातिना असन्तुष्टि तथा अन्तरविरोधहरू आपसी छलफल र संवादका माध्यमबाट तत्काल समाधान गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘निर्वाचनमा पार्टीलाई एकताबद्ध, अनुशासित र सुदृढ बनाएर लैजानु अहिलेको मुख्य आवश्यकता हो। सबै तहका नेता तथा कार्यकर्ताहरू आपसी मतभेद बिर्सेर जनताको घरदैलोमा पुगी निर्वाचन अभियानमा एकाग्र भएर लाग्नुपर्छ।’

बैठकमा एमालेका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले आसन्न स्थानीय तह उपनिर्वाचनको तयारी, संगठनात्मक अवस्था र आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागिएको बृहत् भेलाको व्यवस्थापकीय तयारीबारे बैठकलाई विस्तृत जानकारी गराएका थिए। आइतबारसम्म सञ्चालन हुने यस पूर्ण बैठकमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाको कार्यप्रगति समीक्षा र आगामी रणनीतिका विषयमा सघन छलफल भइरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा