एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइन, षड्यन्त्रपूर्वक सरकारबाट हटाएर हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बेहोरेको पछिल्लो राजनीतिक धक्का निर्वाचन परिणामका कारण मात्र नभई षड्यन्त्रपूर्वक सरकारबाट अपदस्थ गरिएपछि सुरु भएको दाबी गरेका छन्। राजधानीमा जारी पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध देशी–विदेशी शक्तिहरूको घेराबन्दीका कारण एमाले प्रतिरक्षात्मक अवस्थामा पुगेको बताएका हुन्।

सरकारबाट विस्थापित हुँदाको पृष्ठभूमि नबुझी नेपालको वर्तमान राजनीति बुझ्न नसकिने तर्क गर्दै ओलीले भने, ‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको गहिरो विश्लेषण नगरी राजनीति बुझिँदैन। प्राविधिक कमजोरी देखाएर एमाले कमजोर भएको भन्नु भ्रम मात्र हो।’ उनले सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचारबाजी गरेर र अनावश्यक रूपमा सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई जनताबाट टाढा पुर्‍याउने दुष्प्रयास भएको जिकिर गरे।

राजनीतिक रूपमा उदाएका नयाँ शक्तिहरूतर्फ संकेत गर्दै अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग एमाले पंक्ति कहिल्यै डराउनु नपर्ने टिप्पणी गरे। उनले बर्खायाममा निस्कने छिचिमिराको आयु छोटो हुने र घरको छानासम्म पुग्न नपाउँदै आफैँ नष्ट हुने दृष्टान्त दिँदै यस्ता क्षणिक लहरहरूको भ्रम चिर्ने र विजय हासिल गर्ने सामर्थ्य एमालेसँग मात्र रहेको स्पष्ट पारे।

अध्यक्ष ओलीले वर्तमान समाजमा फैलिएको चरम निराशा र अन्योललाई चिरेर मुलुकलाई पुनर्जागरणको दिशामा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा आएको बताए। उनले सम्पूर्ण पार्टी पंक्तिलाई उच्च मनोबलका साथ जनताका बीचमा जान, भ्रमहरू खण्डन गर्न र आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरणमा केन्द्रित हुन निर्देशन दिए।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा