सुबिसुसहित ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम, नतिरे लाइसेन्स खारेज हुने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सुबिसु केबलनेटसहित नौ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई लामो समयदेखि तिर्न बाँकी रहेको सम्पूर्ण बक्यौता रकम १५ दिनभित्र चुक्ता गर्न कडा निर्देशन दिएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै विगतका आर्थिक वर्षदेखि बाँकी रहेको रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र सोबापतको थप दस्तुर तथा जरिवाना दाखिला गर्न अल्टिमेटम दिएको हो।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार बक्यौता नबुझाउने सूचीमा सुबिसु लिमिटेड (काठमाडौँ) सहित म्याग्दीको बेनी कम्युनिकेसन्स, बुटवलको ब्रोडब्यान्ड नेपाल, झापाका फर्स्टलिंक कम्युनिकेसन्स र युनिफाइड कम्युनिकेसन, धनुषाको क्षिरेश्वर नेटवर्क, रुपन्देहीको लुम्बिनी म्याक्स डिजिटल केबल नेट तथा चितवनका मेड इन्फो टेक र प्राइम नेटवर्क रहेका छन्।

यसैगरी, प्राधिकरणले अनुमतिपत्र (लाइसेन्स) नवीकरण नै नगरी सञ्चालनमा रहेका अन्य २० वटा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत १५ दिनभित्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। नवीकरण नगर्नेहरूको सूचीमा क्लासिक टेक, टेकमाइन्ड्स नेटवर्क, वेब सर्फर नेपाल, ब्रोडलिंक, पोखरा इन्टरनेट र मर्केन्टाइल कम्युनिकेसनलगायतका कम्पनीहरू समावेश छन्।

तोकिएको १५ दिनको समयावधिभित्र बक्यौता रकम नबुझाएमा वा नवीकरण प्रक्रिया पूरा नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको कानुनी प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ। अनुमतिपत्र खारेज भए पनि राज्यलाई बुझाउनुपर्ने सरकारी बक्यौता प्रचलित कानुनबमोजिम सरकारी बाँकीसरह असुलउपर गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा