काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा सामान्य फेरबदल देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भई एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।
तराई भू-भागका केही स्थानहरूमा भने मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने हुनाले जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ। यद्यपि, दिउँसो देशका हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।





