चितवनमा ६ लाख बढीको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिक पक्राउ, नगद पनि बरामद

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र भण्डारणमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको विभिन्न प्रकारका पटाका तथा १ लाख ७२ हजार ३०० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेहरूमा भारतको मोतिहारी जिल्ला घर भई हाल चितवनको कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई हाल भरतपुर महानगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका छन् ।

प्रहरीको विशेष टोलीले उनीहरूको डेरा तथा गोदाममा खानतलासी गर्दा ८० हजार ३७२ वटा भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका विभिन्न ब्रान्डका विस्फोटक पटाका फेला पारेको थियो । चाडपर्व नजिकिँदै गर्दा गैरकानुनी रूपमा सीमापारिबाट ल्याइएका यी पटाकाहरू चितवन र आसपासका जिल्लाहरूमा बिक्री वितरणको तयारी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध विस्फोटक पदार्थ कसुर (ओसारपसार तथा सञ्चय) अन्तर्गत अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । प्रहरीले यस्ता प्रज्वलनशील तथा घातक विस्फोटक सामग्रीको ओसारपसार वा बिक्री वितरण भइरहेको पाइएमा तुरुन्तै प्रहरीलाई खबर गर्न नागरिकहरूसमक्ष अनुरोध समेत गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा