काठमाडौँ । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सञ्जाल सुधारका लागि २८५ मिलियन अमेरिकी डलर (करिब ३८ अर्ब रुपैयाँभन्दा बढी) सहुलियतपूर्ण ऋण तथा २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय, पूर्वाधार, कृषि, भूमिसुधार तथा कानुनी क्षेत्रसँग सम्बन्धित ६ वटा महत्त्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्ताले सार्वजनिक गरेका छन्।
मन्त्रिपरिषद् बैठकका प्रमुख ६ निर्णयहरू यसप्रकार छन्:
- सडक सुधारका लागि एडीबी सहायता स्वीकार: एसियाली विकास बैंक (एडीबी) बाट रणनीतिक सडक सञ्जाल सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
- नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद सेयर लगानी: सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गरेको छ।
- मल नियन्त्रण आदेश, २०८३ स्वीकृत: कृषि क्षेत्रको उत्पादकत्व बढाउन नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक एवम् प्राङ्गारिक मललाई अत्यावश्यक पदार्थको सूचीमा समावेश गर्दै ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गरिएको छ।
- जलवायु सम्मेलन (कोप-३१) मा उच्चस्तरीय टोली: तुर्किए (टर्की) को आन्ताल्यामा २०८३ कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP-31) मा सहभागी हुन नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ।
- मोही जग्गा बाँडफाँटको म्याद थप: मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिने अवधि २०८५ कात्तिकसम्म र बाँडफाँट गरी टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिइएको छ।
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस: प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।





