काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम आज शुक्रबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले गिरावट आएको छ।
आजका लागि छापावाल सुनको मूल्य प्रति तोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ। हिजो बिहीबार सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार कीर्तिमानी उचाइमा पुगेको सुनको मूल्यमा पछिल्ला दुई दिनमा ठूलो गिरावट देखिएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज उल्लेख्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा २७० रुपैयाँले घटेर प्रति तोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रति तोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उत्तारचढाव र आन्तरिक मागमा देखिएको शिथिलताका कारण स्थानीय बजारमा पनि यसको प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।





