निर्वाचन बहिष्कारको आरोपमा ४२ जना पक्राउ, दुर्गा प्रसाईंसहित अधिकांश रिहा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको अभियान चलाएको आरोपमा प्रहरीले देशभरबाट हालसम्म ४२ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये धेरैजसो रिहा भइसकेका छन् भने हाल १४ जना मात्रै प्रहरी हिरासतमा रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार नियन्त्रणमा लिइएकामध्ये केहीलाई आवश्यक सोधपुछ र सम्झाइबुझाई पछि छाडिएको छ भने केहीलाई अदालतको आदेशपछि रिहा गरिएको हो। बुधबार मात्रै अदालतको आदेशपछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हिरासतमुक्त भएका छन्। यसअघि मंगलबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेल पनि अदालतको आदेशमा रिहा भइसकेका छन्।

प्रहरीका अनुसार हाल हिरासतमा रहेकाहरूमा नेकपा (बहुमत) का नेता धर्मेन्द्र बाँस्तोला र विष्णु तिमल्सिनासहित १४ जना छन्। त्यस्तै, तनहुँका मनबहादुर गुरुङ, कास्कीका गगन परियार, र नेकपा (बहुमत) का केन्द्रीय सदस्य लक्ष्मण पाण्डे (अग्नी) पनि प्रहरी नियन्त्रणमै रहेका छन्। कास्कीका भीमसेन परियार र कपिलवस्तुका क्रान्तिकारी कम्युनिष्ट पार्टीका सदस्य खोमे थारुलाई पनि हिरासतमा राखिएको छ।

यसैगरी, दुर्गा प्रसाईंको पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रामचन्द्र कोहार, खेम गुरुङ र जिनसरी गुरुङलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। हिरासतमा रहेका अन्य व्यक्तिहरूमा हरिबहादुर श्रीस, प्रेमकुमार थाम्सुहाङ्ग, देवी संग्रौला र गोपाल बोहरा रहेका छन्।

प्रहरीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निगरानी बढाएको र निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने गतिविधिमा संलग्नहरूमाथि कानुनी कारबाही अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा