काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संसद् स्थगित गरेर अध्यादेश ल्याउन लागेको तयारीप्रति कडा आपत्ति जनाउनुभएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले संसद् छलेर अध्यादेशको बाटो रोज्ने सरकारी निर्णयको औचित्यमाथि प्रश्न उठाउनुभएको हो।
महासचिव पोखरेलले विगतमा यस्तै कदमको चर्को आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि सोही बाटो हिँडेको भन्दै उनीहरूले यसको जवाफ दिनुपर्ने बताउनुभयो। विशेषगरी जनताले ठूलो आशा राखेको नयाँ नेतृत्वबाटै यस्ता गैरलोकतान्त्रिक अभ्यास हुनु गम्भीर चिन्ताको विषय भएको उहाँको तर्क छ।
“धेरै आशा गरिएकाहरू प्रतिको निराशाले नै मुलुकमा संकट निम्त्याउँछ,” पोखरेलले भन्नुभएको छ। नेतृत्वप्रतिको जनविश्वास कमजोर हुनुले लोकतन्त्रलाई नै क्षति पुर्याउने भन्दै उहाँले यस्तो संवेदनशील परिस्थितिमा सरकार र नेतृत्व अझ जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला एमाले महासचिवको यो टिप्पणी आएको हो।





