काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भाग नजिक रहेकाले देशका विभिन्न स्थानमा वर्षा र बदलीको अवस्था देखिएको छ।
आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ। हिमाली र पहाडी भेगका केही स्थानहरूका साथै मधेस र कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज राति देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





