चन्द्रिका श्रेष्ठको जीवितै उद्धारपछि प्रधानमन्त्रीको सन्देश: ‘खोज तथा उद्धारमा अझै डटेर लागिरहेका छौँ’

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित बाढी प्रभावित क्षेत्रबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सकुशल उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा दृढतापूर्वक लागिरहेको बताएका छन्। बाढीको तीव्र जोखिमका बीच सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले सिङ्गो देशमा आशा जगाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यो उद्धार कार्यले राज्य संयन्त्र विपद् व्यवस्थापन र नागरिकको जीवन रक्षामा अझै डटेर लागिरहेको स्पष्ट सन्देश दिएको बताएका छन्। भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले ज्येष्ठ नागरिकहरूको सुरक्षा, स्वास्थ्य र मर्यादाको रक्षा गर्नु सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पारे।

यसैबीच, बाढीका कारण विस्थापित भएका नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण केन्द्रका आमाबुबाहरूलाई काठमाडौँको म्हैपी तथा इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा सुरक्षित स्थानान्तरण गरिएको छ। उनीहरूका लागि ह्वीलचियर, नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवाको प्रबन्ध मिलाइएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘अस्थायी बसाइलाई छोट्याएर छिटोभन्दा छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौँ, राज्य सधैँ नागरिकको साथमा छ।’

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा