हुथी समूहको पछिल्लो आक्रमणप्रति राष्ट्रसङ्घको गम्भीर चिन्ता, संयम अपनाउन गुटेरेसको अपिल

काठमाडौँ । यमन संकट थप गहिरिँदै गएको र साउदी अरबका नागरिक बस्तीहरूलाई लक्षित गरी हुथी समूहले आक्रमण तीव्र पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव कम गर्न सबै पक्षलाई अधिकतम संयम अपनाउन र अविलम्ब राजनीतिक वार्ताको मार्ग अवलम्बन गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई निशाना बनाएर गरिने कुनै पनि सैन्य हमला अस्वीकार्य रहेको स्पष्ट पारेका छन् । यस्ता हिंसात्मक गतिविधिले निर्दोष जनतालाई थप मानवीय संकटमा धकेल्ने भन्दै उनले युद्ध र हिंसाबाट नभई दिगो शान्ति र राजनीतिक निकासबाट मात्र यमन समस्याको समाधान सम्भव रहेको उल्लेख गरे ।

यसैबीच युरोपेली संसद्ले हुथी समूहका राजनीतिक तथा सैन्य विङ, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा सूचीकृत गर्न युरोपेली युनियन (इयु) सँग सिफारिस गरेको छ । पारित प्रस्तावमा हुथीहरूले अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरू तथा इजरायल र युएईमाथि गरेका क्षेप्यास्त्र तथा ड्रोन प्रहारलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको खुला उल्लङ्घन भनिएको छ । सो प्रस्तावलाई यमन सरकारले स्वागत गरेको छ ।

उता, इराकले पनि साउदी अरेबियामाथि भएको आक्रमणको भर्त्सना गर्दै आफ्नो कुनै पनि भूभाग छिमेकी राष्ट्रविरुद्ध आक्रमण गर्न प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ । तनाव न्यूनीकरणका लागि कूटनीतिक संवाद तीव्र बनाउन अन्तर्राष्ट्रिय समुदायले निरन्तर दबाब दिइरहेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा