काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज आइतबार देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहने भए पनि हिमाली तथा उच्च पहाडी भेगमा आंशिक बदली रहनेछ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी हिमाली तथा पहाडी भू-भाग र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
त्यसैगरी आज राति पनि हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली कायमै रहनेछ । देशको तराई भू-भाग, नदी तटीय क्षेत्र तथा उपत्यका र खाँचहरूमा बिहानीपख हल्का हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ । आगामी तीन दिनसम्म देशका कुनै पनि भागमा प्रतिकूल मौसमी प्रणाली वा चेतावनीको अवस्था नरहे पनि उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र बिहानीपखको हुस्सुका कारण यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





