आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना र रातभर जाग्राम बसेर बडादसैँको समापन गरिँदै

काठमाडौँ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमाका अवसरमा धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा–आराधना तथा रातभर जाग्राम बसेर औपचारिक रूपमा समापन गरिँदैछ । विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने १५ दिने क्रम पनि आजैदेखि विधिवत् रूपमा अन्त्य हुँदैछ ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आजको रात देवी महालक्ष्मी पृथ्वी लोकको भ्रमणमा निस्कने र ‘को जागेको छ?’ (को जाग्रत) भनी हेर्ने जनविश्वास छ । निष्ठापूर्वक रातभर जाग्राम बसेर महालक्ष्मीको स्तुति तथा उपासना गर्ने भक्तजनको घरमा माता लक्ष्मीले प्रवेश गरी सुख, शान्ति र ऐश्वर्य प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा आज साँझ घरआँगन सफा सुग्घर पारी दीपावली गर्दै गृहिणीहरू रातभर जाग्राम बस्ने गर्दछन् ।

शरद पूर्णिमासमेत भनिने यस रात कतिपयले खीर पकाएर चन्द्रमाको प्रकाश पर्ने गरी खुला आकाशमुनि राख्ने र भोलिपल्ट बिहान अमृतमय प्रसादका रूपमा परिवारजन मिलेर ग्रहण गर्ने परम्परा छ । यस्तै, घटस्थापनाका दिन दशैँघर तथा कोतहरूमा राखिएका जमरा र फूलपातीका अवशेषहरूलाई आज नजिकैका पवित्र नदी, तलाउ तथा तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

परम्पराअनुसार आज राष्ट्रप्रमुखबाट भक्तपुरको प्रसिद्ध नवदुर्गा पीठमा पूजाअर्चना गरी यस वर्षको बडादसैँ समापन भएको जनाउ दिने प्रचलन छ । आजको रात काठमाडौँको स्वयम्भू चैत्यमा महादीप बाल्ने गरिन्छ भने भोलिदेखि एक महिनासम्म साँझपख बाँसको लिङ्गोमा आकाशदीप बाल्ने र तुलसीको पूजा आराधनासहित कात्तिकस्नान सुरु हुने धार्मिक विधि रहेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा