काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै गम्भीर प्रश्न उठाएका छन् । अर्थमन्त्री वाग्लेले ‘नेपालमा अब भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनी दिएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको राष्ट्रिय स्वाभिमान एवं हितमा आँच पुर्याउने खालको भएको ज्ञवालीले टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले विदेशी भूमि कुनै पनि जिम्मेवार सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्ने थलो नभएको स्पष्ट पारेका छन् । उनले नेपालमा कहिल्यै पनि ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको दाबी गर्दै सार्वभौम समानता, पारस्परिक हित र पारस्परिक सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध मात्र नेपालको सदैव चाहना रहेको स्मरण गराएका छन् ।
“कुनै व्यक्ति या समूह विशेषले राख्ने संकीर्ण दृष्टिकोण आफैँमा कुनै ‘युग’ हुन सक्दैन, न त त्यसले समग्र राष्ट्रकै प्रतिनिधित्व गर्छ,” ज्ञवालीले प्रश्न गर्दै भनेका छन्, “अर्थमन्त्रीज्यूले कुन ‘युग’को कुरा गर्नुभएको हो ?”
नेपाल र भारतबीच विद्यमान ऐतिहासिक र व्यावहारिक समस्याहरूको यथार्थ चित्रण गर्दै ज्ञवालीले दुई देशबीच समाधान गर्नुपर्ने अनेकौँ संवेदनशील विषयहरू रहेको औँल्याएका छन् । उनका अनुसार सीमा विवाद, सुरक्षा छाताको आभास दिने १९५० को सन्धिका कतिपय असमान प्रावधान, भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँचमा देखिने अनुदार वाणिज्य नीति, चुलिँदो व्यापार घाटा, सीमा क्षेत्रमा निर्मित एकतर्फी बाँध तथा तटबन्धका कारण वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने समस्या र नेपालले पाउनुपर्ने थप वैकल्पिक हवाई प्रवेश मार्गमा भारतीय पक्षबाट हुँदै आएको आनाकानी मुख्य समस्या हुन् ।
“घनिष्ठ छिमेकी मित्रसँग यस्ता गम्भीर विषयमा खुलस्त र स्पष्ट कुराकानी हुनु अनिवार्य छ, समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो बन्न सक्दैन,” ज्ञवालीले अगाडि भनेका छन्, “यी विषयहरू उठाउनु कुनै देश विशेषको विरोध होइन, यो विशुद्ध नेपालको राष्ट्रिय हित र स्वाभिमानको प्रश्न हो ।”
हरेक सरकारको पहिलो र मुख्य दायित्व राष्ट्रिय हितको रक्षा गर्नु भएकोमा जोड दिँदै उनले समस्या समाधानको एकमात्र सही बाटो राष्ट्रिय एकता र सहमति निर्माण गर्नु रहेको बताए । यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले मुलुकको हित नहुने भन्दै उनले गम्भीर कूटनीतिक पहलबाट मात्र समस्या समाधान सम्भव हुने धारणा व्यक्त गरेका छन् ।





