काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण मंगलबार (कार्तिक १० गते) देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने र बाँकी अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ । देशको बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ । दिउँसो कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी मंगलबार रातिको समयमा देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ । राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै वा एक-दुई स्थानमा मेघगर्जन वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
महाशाखाका अनुसार आगामी कार्तिक ११ गते (बुधबार) सम्म कुनै ठूलो मौसमी प्रणाली वा चेतावनीको अवस्था नरहे पनि कार्तिक १२ गते (बिहीबार) देखि भने मौसममा उल्लेखनीय फेरबदल आउने देखिएको छ । बिहीबार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बिहानीपख तराई तथा उपत्यकाका केही भू-भागमा हल्का हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले बिहानको समयमा यात्रा गर्दा तथा दैनिक जनजीवनमा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।





