‘देशले स्वतन्त्रता उपभोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भयो’ : केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले गम्भीर संकटबाट गुज्रिरहेको भन्दै अहिलेको अवस्थाबाट पार पाउन सशक्त जनआन्दोलनको विकल्प नभएको बताएका छन्। उनले वर्तमान सरकारको कार्यशैलीका कारण देशले स्वतन्त्रताको उपभोग गर्न नपाएको र राष्ट्रिय स्वाधीनता खण्डित भएको गम्भीर दाबी गरे।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई स्वाधीनता र स्वतन्त्रताको वास्तविक अभ्यास गर्न सक्ने अवस्थामा पुर्‍याउन एमालेले आन्दोलनको नेतृत्व लिनुपर्ने बताए।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ अध्यक्ष ओलीले भने, ‘देश कम्तीमा स्वतन्त्रताको प्रयोग र स्वाधीनताको निर्बाध अभ्यास गर्न सक्ने हुनुपर्छ। त्यसका लागि सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ।’

उनले मुलुकमा नागरिकहरूले स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्न नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको, ठाउँठाउँमा गुण्डाराज चलिरहेको र वर्तमान शासन व्यवस्था बेलगाम फासीवादतर्फ उन्मुख भइरहेको आरोप लगाए। विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतालाई लत्याउँदै अघि बढेको सरकारका गलत कदमविरुद्ध जनता सडकमा आउनुपर्ने उनको भनाइ थियो।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई मूल गन्तव्य बनाएर आधुनिक एवं न्यायपूर्ण नेपाल निर्माणको अभियान थालेको स्मरण गराउँदै ओलीले संकटको यस घडीमा देशलाई निकास दिने ऐतिहासिक अभिभारा पनि एमालेकै काँधमा आइपरेको उल्लेख गरे। पार्टीको सही विचार र नीतिको जगमा अनुशासित एवं एकताबद्ध भएर अघि बढे मात्रै जनताको विश्वास पुनः जित्न सकिने उनले स्पष्ट पारे।

कार्यक्रममा पार्टीका नवनिर्वाचित तथा मनोनीत केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए। महासचिव शंकर पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल तथा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा