काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोग (यूएन इएससीएपी) द्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार नेपालको तर्फबाट औपचारिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीको संयुक्त आयोजनामा सञ्चालन हुने ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ शीर्षकको उच्चस्तरीय कार्यशालालाई समेत मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्नेछन् ।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनका अनुसार सम्मेलनका दौरान मन्त्री श्रेष्ठले विभिन्न मित्रराष्ट्रका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय तथा साइडलाइन वार्ता गर्नेछन् । ती छलफलहरूमा विपद् पूर्वसूचना प्रणालीको आधुनिक विकास, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोगको पहुँच र जलवायु परिवर्तनजन्य क्षतिको उचित अन्तर्राष्ट्रिय क्षतिपूर्ति प्राप्तिका मुद्दाहरूलाई नेपालले प्राथमिकताका साथ उठाउने छ ।
भ्रमण टोलीमा जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता एवं अन्तर्राष्ट्रिय विकास विज्ञ एवम् वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् । मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।





